चीनको हैनान प्रान्तको हैकाउ शहरस्थित एक व्यक्तिको घरमा भारी मात्रामा सुन भेटिएको छ । अपत्यारिलो मात्रामा सुन भेटिएपछि उक्त घरमा पुगेका अपराध अनुसन्धानदाताहरु समेत आश्चर्यमा परेका छन् ।
पूर्व गभर्नर झाङ्ग कीको घरबाट प्रहरीले उक्त सुन बरामद गरेको चीनको एक स्थानीय समाचारमा उल्लेख छ । झाङ्ग कम्युनिष्ट प्रान्तीय तथा नगरस्तरीय समितिका सदस्यसमेत हुन् । उनीमाथि शंकास्पद काम कारवाहीप्रति अनुशासनको पुनरावलोकन र सम्भावित गैरकानुनी काम भएको आशंकामा निगरानी राखिदै आइएको थियो । यस्तो अनुसन्धानबाट गुज्रिरहेका झाङ्गको निवाशबाट असंख्य द्रव्यले भरिएको भण्डार नै अनुसन्धान टोलीले भेट्टाएको थियो ।
अनुसन्धानकर्ताहरुले १३.५ टन सुन, करोडौं नगद, पुरातात्विक सामानहरु र विलासी रियलस्टेटका कागजातहरु बरामद गरेका छन् । एक स्थानीय संचारकर्मीका अनुसार सेप्टेम्बरको सुरुदेखि नै अनुशासन समितिले उनीमाथि गहिरो छानविन गरिरहेको थियो ।
चीनमा सरकारी कर्मचारीले आर्थिक अपराध गरेको ठहरिएमा मृत्युदण्ड दिने प्रावधान छ ।













