काठमाडौं। अब जुनसुकै क्यान्सर रोगको औषधि नेपालमै उत्पादन हुने भएको छ । नेपालमा पहिलो पटक हरेक क्यान्सर रोगका औषधि उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर औषधि उत्पादन भएपछि २० देखि ३० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि पाउने दाबी गरिएको छ।
नेपालमा क्यान्सरको औषधि उत्पादन सुरु हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । उनले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औषधि पाउन सक्ने भएकाले यसले नेपालीलाई फाइदा गर्ने बताए।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले नेपालीका लागि क्यान्सरको औषधि नेपालमै उत्पादन हुँदा धेरै सहज हुने बताए । उनले अब क्यान्सरका हरेक औषधि सस्तोमा उपलब्ध हुने जानकारी दिए ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले पनि नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन नेपालमा नै सुरु भएको बताए। यसले नेपालमा क्यान्सर रोगीका लागि धेरै फाइदा हुने बताए ।‘एन्टी क्यान्सर’ औषधि टिजिग फर्माले उत्पादन सुरु गरेको हो ।
फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले फर्मामा क्यान्सरसम्बन्धी मात्रै औषधि उत्पादन हुने जानकारी दिए। उनले क्यान्सरविरुद्ध औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताउँदै औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु भइसकेको बताएको छ ।
गोरखापत्र दैनिकमा खवर छ ।













