धनगढि // धनगढिमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि निषेधाज्ञा तोड्दै बिहानै देखि प्रदर्शन शुरु भएको छ ।
निषेधाज्ञा लागु गरिएको घटनास्थल आसपासको क्षेत्रमा जम्मा भएका स्थानीय र विद्यार्थीले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रदर्शनमा उत्रिएकाक केहि बिधार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए भने आन्दोलनकारी घटनास्थलबाट शव उठाउन दिएका थिएनन् ।
स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गर्दै शव उठाएको थियो तर स्थानीयले भने उनको शव लैजाने क्रममा समेत नाराबाजीसहित प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत रहेको बताउनुभएको छ । उहाँले पीडित पक्षलाई छलफलका लागि बोलाइएको समेत जानकारी दिनुभएको छ ।













