पार्टी बनाउने कि सिध्याउने कमरेड !

पार्टी बनाउने कि सिध्याउने कमरेड !


नया प्रबाह
8.3k
Shares

–  प्रभात गाउँले,

पार्टी बनाउने कि सिध्याउने कमरेड?

गत मङ्सिर ११ गते सोमबार पूर्वी चितवन स्थित हरि पौडेलको घरमा पुग्दा वातावरण पुरै शोक र आतंकले भरिएको थियो। नहोस् पनि कसरी परिवारको जेठो छोरो हरिलाई घर नजिकै घाँस काट्न जाँदा बाघले आक्रमण गरी मारेको थियो भने उक्त लास खोज्न गएका २० वर्षीय तामाङ युवकको कम्मर मुनिको भाग जंगलमा फेला परेको थियो पर्सिपल्ट घर नजिकै क्रिया गरिएको घर छेउको बारीमा बाघ आएको देखिन्थ्यो। क्रिया गर्न खोलाको तिरमा जान सक्ने वातावरण थिएन राति आफ्नो बाबुको र श्रीमानको क्रिया बसिरहेकी श्रीमती र छोरी कुर्न बसेकाहरू चार दिनदेखिको निन्द्राले लठ्ठ देखिन्थे भने कुर्न बसेकाहरुलाई कतिखेर बाघले आक्रमण गर्ला भन्ने चिन्ताले सताएको देखिन्थ्यो त्यही चार रातदेखिको निन्द्रा थकाई र दाजु गुमाउँदाको पीडामा किंकर्तव्यविमूढ अवस्थामा भेटिए जनयुद्धका घाइते सिपाही कमरेड अच्युत। हो उनैको जेठो दाजुलाई बाघले आक्रमण गरी मारेको थियो। र हामी उनको घरमा भेट्न पुगेका थियौँ।

चेपाङ, तामाङ र बाहुनहरूको मिश्रित बस्ती लोथरखोलाको किनारमा ऐलानी जग्गामा नाम मात्रका झुप्राहरु थिए। बाघले एक झाप्पु दिँदा भत्कने खालका । पहाडमा दुःख पाएर तराई झरेका पिप्लेका यी बस्ती पहाडमा भन्दा कम दुःखमा थिएनन् स्वर्गीय खुसीराम पाख्रिनको गीत ‘कालो वनको बिचैमा खेतालाको गाउँ’ सम्झिरहेको थिएँ मैले यी बस्ती देख्दा । हो यही बस्तीबाट गरिबको सुदिन ल्याउने सपनामा मोहित भएर जनयुद्धमा लागेका थिए कमरेड अच्युत । आठ कक्षा पढ्दा पढ्दै जनयुद्धको भरभराउँदो सिपाही निडर योद्धा बनेर पूर्णकालीन बनेका थिए । लडाईँको मैदानमा सधैँ फर्स्ट एसल्टमा रहन रुचाउथे कमरेड अच्युत । तत्कालीन माओवादी पार्टीले देखाएको गरिवहरुको सुदिन ल्याउने सपनालाई विपनामा बदल्न अच्युत जस्तै लाखौं कार्यकर्ता जनयुद्धमा लडे । त्यसमध्ये कैयौले सहादत प्राप्त गरे त्यो सुन्दर सपनाका लागि तर अच्युतको भागमा मृत्यु होइन जीवनभर बल्झिरहने घाउ भयो जनयुद्ध । गोर्खाको ताकुकोट चौकी आक्रमणको क्रममा फर्स्ट एसल्टमा लड्दा लड्दै दुश्मनले फालेको ३६ ह्यान्ड ग्रेनेड अच्युतको छेउमा आएर पड्क्यो र उनको कम्मरदेखि पैतालासम्म सयौं छर्राहरुले प्वाल पारे

 

लामो उपचारपछि उनी एउटा खुट्टा सुकेर घाइते अवस्थामा पार्टीमा फर्किए उही उत्साह उही जोश र उही सपनाको संसारमा । तर समय न अच्युतले चाहेजस्तो भयो न सपना साकार । शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी सरकारमा पुग्यो। थुप्रै नेताहरु मन्त्री भए थुप्रै सांसद । अब माओवादी नेतृत्वलाई जनयुद्धका उत्साही साहसी निडर गरिब दुःखी सिपाहीको खाँचो पर्न छोड्यो। त्यसको ठाउँ सुमार्गी, दुर्गा प्रसाई, डाक्टर लारक्याल लामा हरुले लिए हिजो आलोचना र आत्माआलोचनाको चेतनाले लैस नेता कार्यकर्ताको सम्बन्ध नङ र मासुको जस्तो थियो। यो ठाउँ अब चाकडी चाप्लुसी दलाली र कमिसनले लिन थाल्यो। यसमा जो अब्बल छ उही नेता र नेताको प्रिय पात्र बन्ने प्रवृत्ति बढ्यो अब अच्युतहरूले पार्टीमा लाग्दा देखेको सपना तुहिन थाल्यो। अर्कातिर पारिवारिक जिम्मेवारीले थिच्न थाल्यो। अब वीरता र मुक्तिका कुराले पेट भरिएन। पेट भर्नका लागि र पारिवारिक जिम्मेवारी पूरा गर्नका लागि उनी पूर्णकालीन कार्यकर्ताबाट अपाङ्ग शरीर लिएर परिवार पाल्ने बाध्यतामा आइपुगे। न कालो वनका बीचका खेतालाको जीवनमा परिवर्तन आयो न जनयुद्ध लडेका लाखौं कार्यकर्ताको जीवनमा । परिवर्तन आयो त केवल सीमित नेताको र तिनको चाकडी र चाप्लुसीमा व्यस्त कार्यकर्ताको, अनि दलाली र कमिसनको चक्करमा लाग्नेहरूको । युद्ध लडाउनेहरू कहाँबाट कहाँ पुगिसके लड्नेको हालत यहाँ यस्तै छ। मेरो आँखामा न्याय स्वतन्त्रता र मुक्तिको भाषण गर्दै अनि बन्दुक बोकेर राज्य सत्ता पल्टाउने हिम्मत गर्ने अच्युतको निन्याउरो र विस्मृत आँखाले सूईरोले मुटुमा रोपेझैँ भइरहेको छ। कहिलेकाहीँ लाग्छ कि पढ्दा पढ्दै जनयुद्धमा नहिडाएको भए उसले पनि एसएलसी वा त्योभन्दा माथि पढ्थ्यो होला कुनै रोजगारी वा व्यवसाय गर्थ्यो होला आफ्नै घर र संसार अहिलेको भन्दा सुखपूर्ण हुन्थ्यो होला । उसलाई छापामार बनाएर अपराध नै पो गरियो कि ?

दाइको मृत्युपछि भाउजु र परिवारको व्यवस्थापन गर्न यसो पार्टीका नेताहरूलाई भन्ने कि भाउजुलाई कुनै रोजगारी भयो भने ती बच्चाबच्चीहरूको पढाइ राम्रो हुन्थ्यो कि भन्ने मेरो अनुरोधमा अच्युतले विमति राख्दै भन्यो मलाई चाकडी गर्न आउँदैन त्यसैले नभन्ने बरु छोरीहरुलाई सरकारी स्कुलमा राखेर जसो तसो गरेर पढाउनुपर्ला। हिजो तिनै नेताको एक आदेशमा मर्न तयार भएको अच्युत आज परिवारमा परेको बज्रपातपछि थोरै सहयोगको याचना गर्न पनि नचाहने भयो। यसो सोचे चितवन त्यो जिल्ला हो जहाँ जनयुद्ध का सर्वोच्च कमान्डर प्रधानमन्त्री हुनुहुन्छ। त्यस्तै थुप्रै नेताहरू सांसद र पार्टीको माथिल्लो ओहोदामा छन । जसको एक आदेशमा अच्युत मर्न तयार भयो तर आज बिपत्तिमा तिनै नेताहरूलाई भन्न तयार छैन। पार्टी कमजोर हुनुमा नेता कार्यकर्ता बिचको यहि सम्बन्ध हैन र ? यतिखेर माओवादी पार्टीको साइज खुम्चिँदै छ त्याग बलिदानले ओतप्रोत नेता कार्यकर्ता कि त खाडीमा छन् कि पार्टी बाहिर वा पार्टीमा रहेर पनि निराश निराश पार्टीभित्र चैते र दलालहरू हावी हुँदैछन् । पार्टीलाई हिजोका नेता कार्यकर्ता जनमुक्ति सेना सहिद परिवार र घाइते चाहिएको छैन । आधारभूत वर्गलाई छोडेर मध्यम वर्गमा भर परेको छ पार्टी यतिखेर तर मध्यम वर्गले माओवादीलाई स्वीकार्दैन । आधारभूत वर्गको विश्वास गुमाएको छ। यस्तो अवस्थामा पार्टी कसरी ठूलो हुन सक्छ र एकपटक पार्टी बनाउने भए तिनै पुराना बस्ती र आधारभूत वर्ग र हिजोका त्याग बलिदान र साहसले ओतप्रोत कार्यकर्ताको विश्वास जित नभए जति बाँकी छौ त्यतिले सत्तामा जाउ मोजमस्ती गर । आफ्नो र सन्तानको लागि पुग्ने गरी भ्रष्टाचार गर किनकि अर्को पटक तिम्रो दिन आउँदैन। जसरी तिम्रो पछि लागेर अच्युत जस्तै लाखौं कार्यकर्ताको दिन आएन ।

नेताहरूसँग सुध्रिनको लागी अझै समय छ । नभए भिरमा लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार