विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले लहडका भरमा सेयरमा लगानी नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् । उद्योग संगठन र मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको ‘आर्थिक विकास र समृद्धता, सरकार र निजी क्षेत्रको प्रतिबद्धता’ विषयक छलफलमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले भने, ‘हामीले शेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएका छौं । हस्तक्षेप गरेका छैनौँ । तर, बजार घटेको छ ।’ अर्थमन्त्रीले अस्वभाविक रुपमा बढाइएको बजार अहिले शेयरको बढी आपूर्ति भएका कारण घट्नु अनौठो विषय नभएको स्पष्ट गर्दै कम्पनीको प्रोफाइल नहेरी लगानी नगर्न र दीर्घकालीन रुपमा सोच्न आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले लहडबाजीमा लगानी नगर्नु आग्रह गरे। उनले भने. ‘बजारमा थप शेयर आउँदैछन् । हाइड्रोहरुले आइपीओ ल्याउँदैछन् । बैंकले पूँजी बढाएका छन् । शेयर थपिएको छ, अनि अर्थशास्त्रको सामान्य सिद्धान्त हो, आपूर्ति बढ्दा बजार मूल्य घट्छ ।’
अर्थमन्त्रीले शेयर घटबढ हुनुलाई अनौठो मान्न नहुने बताए । सेयर कस्तो चिज हो भन्ने प्रश्न गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय बजार त घट्छ । त्यैसैले घटबढ हुनुलाई अनौठो मान्नु हुँदैन।’













