जिम्बावेका पूर्व राष्ट्रपति रवर्ट मुगावेको निधन भएको छ । ९५ वर्षीय मुगावेको उपचारका क्रममा सिंगापुरको एक अस्पतालमा निधन भएको हो ।
मुगावेको निधनको पुष्टि जिम्बावेका वर्तमान राष्ट्रपति एमर्सन मालन्गावाले गरेका हुन् । उनको अफिसियल ट्वीटरबाट यसको पुष्टि भएको हो ।
उनले ट्वीटर सन्देशमा भनेका छन्, “जिम्बावेका संस्थापक नेता तथा पूर्व राष्ट्रपति मुगावेको मृत्यू भएको कुरा लेख्नुपर्दा मलाइ असाध्यै पिडावोध भएको छ ।
गत नोभेम्बरमा मालन्गावाले मुगावे हिंड्न नसक्ने भएको र सिंगापुरको अस्पतालमा उपचारका लागि भर्ना भएको जनाएका थिए । तर उनले मुगावेलाई कुन रोग लागेको थियो भन्नेबारे भने केही खुलाएका थिएनन् । अधिकारीहरुले उनी आँखासम्बन्धि समस्याबाट पिडित रहेको संकेत गरेका थिए ।
तर, केही निजि सञ्चार माध्यमहरुले भने उनी प्रोष्टेट क्यान्सरबाट पिडित भएको बताएका थिए ।
मुगावे सन् १९८० मा ब्रिटेनबाट जिम्बावे स्वतन्त्र भएपछि सन् २०१७ सम्म लगातार त्याहाँका राष्ट्रपति रहँदै आएका थिए ।
सन् २०१७ को नोभेम्बरमा सेनाले रक्तपातबिहीन बिद्रोह गरेपछि मुगावेले सत्ता त्याग गरेका थिए । उनी अफ्रिकी महादेशको मुक्ति योद्धाको रुपमासमेत चिनिन्छन् । मुगावे सदियौंदेखि उपनिवेशवादी गोराहरूले चलाएको रंगभेद नीतिलाई परास्त गर्ने सामाजिक सद्भावका नेतृत्वकारी व्यक्तित्वका रुपमा समेत चिनिन्थे ।












