युवा उपन्यासकार दीपा न्यौपानेको उपन्यास ‘शशीकला’ बजारमा आएको छ । सोमबार एक समारोहका बीच काठमाडौँमा उपन्यासको लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यकम्रमा अतिथि प्राडा गार्गी शर्माले साहित्य सिर्जना गर्दा अरू कसैको नक्कल गर्न नहुने धारणा व्यक्त गरिन् । शर्माले भनिन्,‘साहित्य आफ्नैजस्तै मौलिक हुनुपर्छ ।’शशीकला उपन्यासमा समाजको प्रस्तुतिकरण भएको पाएको बताएकी शर्माले समाज नै साहित्यको स्रोत भएको विचार व्यक्त गरिन् ।
समीक्षक डा. कौसिला रिसालले सामाजिक मनोविश्लेषनात्मक उपन्यास शशीकलामा उपन्यासकारको उच्च कल्पनाशीलता प्रदर्शन भएको बताइन् । उपन्यासमा साहसी र बलियो महिला पात्रले महिला सशक्तिकरणको सन्देश मात्रै नदिएर युवायुवतीको मायाप्रेमका साथै सामाजिक सेवाभाववविरुद्धको आवाजसमेत बोलेकाले उपन्यास उत्कृष्ट रहेको डा.रिसालले बताइन्।
अर्का समीक्षक केदार पनेरुले उपन्यास खँदिलो रहेको बताए । उनले सरल प्रस्तुतीकरणले उपन्यास पठनयोग्य रहेको विचार व्यक्त गरे ।
उपन्यासमाथि समीक्षा गर्दै पत्रकार साहस न्यौपानेले लेखकीय क्षमताको प्रशंसा गरे । वियोगात्मक प्रेम कथाको विशेषता बोकेको उपन्यासले समाजिक भेदभावविरुद्ध समेत आवाज उठाएकाले थप खँदिलो भएको उनको भनाइ थियो । शशीकलाले युवा पुस्तालाई मूलत: आकर्षित गर्ने न्यौपानेले विश्वास व्यक्त गरे ।
नेपाली साहित्यमा आफ्नो पहिलो सिर्जनाको रूपमा उपन्यास ल्याएकोमा उपन्यासकार न्यौपानेलाई बागमती प्रदेशसभाका सदस्य प्रेम तामाङ, साहित्यकारहरू सुरेशकुमार भट्ट, डा.सत्यराज थपलिया,वसन्त भट्ट, बौद्ध धर्म गुरु सूर्य बज्रयाना,चलचित्र निर्देशक घनश्याम तिमिल्सिना ‘एण्टेना’, नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष केशवप्रसाद पौडेल, कवि रसुवाली कविलगायतले शुभकामना दिएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको लेखनाथ प्रवचन हलमा सम्पन्न कार्यक्रममा उपन्यासकार दीपा न्यौपानेले उपन्यासको रचनादेखि प्रकाशन हुँदै लोकार्पणसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।













