काठमाडौ ।। बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षामा नयाँ मापदण्ड लागू भएको छ ।
अब लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने भएको छ । लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको हो । प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गरेको छ ।
प्रदेशको प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ मापदण्ड लागू गरेको जानकारीसहित प्रदेशको सबै यातायात कार्यालयमा परिपत्रसमेत गरेको जनाएको छ । आइतबार काठमाडौंको चाबहिलस्थिति यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी रहेको बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिनुभएको छ ।
पाँच महिनाअघि प्रदेशका सबै यातायाता कार्यालय प्रदेश यातायात मन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो। निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न लागिएको हो। लिखित परीक्षमा भने ६० अंक ल्याउनुपर्ने भएको छ ।













