रसुवा। नेकपा (माओवादी केन्द्र) रसुवाको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ उद्घाटन कार्यक्रम सम्पन्न।
नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणका लागि ३ महिने विशेष रूपान्तरण अभियान थालेको छ । शनिबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चन्द्रागिरी–२ बाट औपचारिक रूपमा ‘जनतासँग माओवादी रूपान्तरण अभियान’को सुरुवात गरेका हुन् ।
माओवादी केन्द्र रसुवाले भाद्र ९ गते अभियानको तयारी बैठक गरेको थियो। बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकर र प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको उपस्थितीमा बसेको उक्त तयारी बैठकमा पार्टी केन्द्र र प्रदेशबाट कार्य विभाजन भई जिल्लमा आएका नेताहरुको र जिल्ला कमिटी सदस्यहरूको कार्य क्षेत्र तोकी २७ वटै वडाहरुमा गरिने कार्यक्रमहरूको आयोजना तयार गरिएको पार्टी अध्यक्ष फुर्पु तेन्जिङ तामाङले बताउनुभयो। जसअनुसार आमाछोदिङमो गाउँपालिकामा मेघनाथ घिमिरे प्रभाकर र गणेश बि क, उत्तरगया गाउँपालिका रामशरण पौडेल र शिला मगर, गोसाइँकुण्ड गाउँपालिका केशब प्रसाद पौडेल र पासाङ फेल्मो तामाङ, नौकुण्ड गाउँपालिका केन्द्रीय सदस्य बाबु घिसिङ, अर्जुन देवकोटा र दिलिप तामाङ, त्यसैगरी कालिका गाउँपालिका केन्द्रीय सदस्य कल्पना शर्मा, फुर्पु तेन्जिङ तामाङ र भगवती न्यौपाने को कमान्डमा अभियान संचालन हुनेछ ।
३ चरणमा सञ्चालन हुने उक्त अभियानमा संगठन सुधार तथा विस्तारदेखि समस्या समाधान तथा विभिन्न विषयहरूमा बहस र अन्तरक्रिया हुने उनले बताए । अभियान अन्तर्गत पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, संगठन विस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गरिने छ भने दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुलिङ, विषयगत अन्तर्क्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला जस्ता कार्यक्रम गरिने उनले बताए । तेस्रो चरणमा भने जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम रहेको उनको भनाई छ ।













