रसुवा, माघ १ – केरुङबाट चिनियाँ सामग्री आयातको काम आजदेखि ठप्प भएको छ । आज देखि सात दिन सम्म आयात स्थगित भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिएका छन् ।
कोइरालाका अनुसार नेपाल पठाइने सामग्री ट्रक कन्टेनरमा लाद्ने जिम्मा लिई केरुङमा काम गर्दै आएका ट्रान्सपोर्टहरुले ल्होछार मनाउन सात दिनका लागि सामान नलाद्ने सूचना जारी गरेपछि आयात स्थगित भएको हो ।
केरुङबाट नेपाल आयात हुने काम स्थगन भए पनि सामान लिन जाने ट्रक र कन्टेनरलाई केरुङ जान भने नरोकिएको बताइएको छ ।
मालवाहक ट्रक र कन्टेनर बन्द हुँदा टिमुरे क्षेत्रको चहलपहलमा कमी आएको स्थानीयवासीले बताउँछन् । नेपाली व्यवसायीका लागि चीनको गोन्जाउ र ल्हासादेखि केरुङसम्म सामान ढुवानी गर्ने ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङसे पिङले अहिले तिब्बती ल्होछार भएको र मोटरमा सामान अदलबदल गर्ने सबै कामदार तिब्बती भएका कारण काम बन्द गरेको जानकारी दिए ।
बन्द भएको ढुवानी सेवा माघ ८ गतेदेखि पुनःसञ्चालन हुने बताइएको छ । गत वर्ष पनि यही समयमा एक साता ढुवानी बन्द भएको थियो ।













