पर्यटकका लागि सगरमाथा र लुम्बिनी भन्दा नेपालीपन ठुलो : बैद्य

साहस न्यौपाने

काठमाडौँ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेसंगै भूकम्प पछि सुस्त बनेको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने आशा धेरैको छ । सरकारको यस घोषणाले पर्यटन व्यवसायी झन् बढी उत्साहित बनेका छन् । सरकार, नीजि क्षेत्र र सरोकारवाला निकायहरु यतिबेला भ्रमण वर्ष सफल हुने र पर्यटन क्षेत्रमा ठुलो सुधार आउने अपेक्षा गरिरहेका छन् ।

यसै सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्य पर्यटकको संख्या भन्दा पनि त्यसले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा बहस हुनुपर्ने बताउछन् । पर्यटक कति संख्यामा नेपाल भित्रिए भन्ने भन्दा पनि पर्यटन क्षेत्रमा भएको लगानी र त्यसले सिर्जना गरेको रोजगारीका बारेमा छलफल हुनुपर्ने उनको तर्क छ । यति पर्यटक आए भनेर संख्यामा विवाद गर्नु भन्दा पनि यसले ल्याउने प्रभावका सम्वन्धमा गम्भीर बहस आवश्यक रहेको उनको भनाइ छ ।

जहाजमा आउनेलाई मात्र पर्यटक मान्ने कतिपयको तर्कसँग उनको विमति छ । उनी भन्छन् ‘नेपाल आउने सबै पर्यटक हुन्, हैन भने पर्यटकको परिभाषा नै परिवर्तन गर्नुपर्छ ।’  धेरै ठुला कुरामा अल्झिनु भन्दा पनि नेपाललाई नेपालीपन दिनसक्ने सरल कार्यक्रम बनाउन सके मात्रै पनि भ्रमण वर्ष सफल हुने उनको मत छ ।

काठमाडौँ, पोखरा र लुम्बिनी केन्द्रीत पर्यटनलाई देशभर विस्तार गर्न पूर्व र सुदुरपश्चिममा १/१ वटा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनुपर्ने उनको भनाइ छ । ‘काठमाडौँबाट अर्को कुनै पर्यटकीय क्षेत्रमा पुग्न लाग्ने हवाई भाडा मुम्बईबाट दुबई पुग्ने भाडा भन्दा महँगो छ, पर्यटक किन  काठमाडौँ बाहिरका अरु गन्तव्यमा जाने ?’ उनि प्रश्न गर्छन् ।  देख्दा साना लाग्ने कुराले पनि प्रभाव ठुलो पर्ने हुँदा ध्यान पुर्याउनु पर्छ भन्छन् उनी ।

जतिसुकै कुरा गरे पनि पर्यटनमा लगानी नबढाई पर्यटक नबढ्ने बैद्यको दावी छ । ‘पूर्वाधार र प्रवर्द्धनमा लगानी बढाउनुको विकल्प छैन्, त्यसैले हामि यसै वर्षको सेप्टेम्बरमा टुरिजम इन्भेस्टमेन्ट समिटको तयारि गर्दैछौ’, नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका वैद्यले भने । निजी क्षेत्रले पर्यटनमा लगानी बढाउनु पर्ने भन्दै उनले सरकारले पनि नीतिगत कुराहरुमा आवश्यक सुधार गर्दै जानुपर्ने बताए ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा संयोजक बैद्यले भ्रमण वर्ष लक्षित के कस्ता काम हुँदैछन् भन्ने लामै फेहरिस्त खोले । पर्यटकलाई काठमाडौँको धुलो, धुवा र ट्राफिक जामबाट मुक्त गराउन ‘काठमाडौँ बाइ नाइट’ भन्ने कार्यक्रम छिट्टै सुरु गर्ने तयारि गर्दैछन् उनी । त्यस्तै गोक्यो लेकमा हक्की प्रतियोगिता, इन्टरनेश्नल बेलुन फेस्टिवल, देबघाटमा महायज्ञ, लुम्बिनीमा अन्तराष्ट्रिय महिला कन्फरेन्स जस्ता कार्यक्रम आयोजना गरिने उनको भनाइ छ । त्यसैगरी विभिन्न १२ मुलुकमा गुडविल एम्बेसडर नियुक्त गर्ने देखि राजेश हमाल, पारस खड्का, मिरा राई लगायत देशका चर्चित सेलिब्रेटीहरुबाट ‘२० लाख पर्यटक भित्र्याउ’, ‘भ्रमण वर्ष सफल पारौ’ जस्ता नारा रेकर्ड गराएर संचारमाध्यममा बजाउने कार्यक्रम उनको योजना छ । टुरिजम इन्फर्मेसन सेन्टरको ठाउमा नमस्ते सेन्टर स्थापना गर्ने र पर्यटक भित्रिने देशका सबै स्थानमा राख्ने उनको अर्को योजना छ ।

नेपाल आउने पर्यटकको मुख्य हिस्सा भारतीय र चिनियाँ पर्यटक नै भएकाले उनीहरुलाई लक्षित कार्यक्रम बनाउनु पर्नेमा उनको जोड छ । ‘दुई ठुला छिमेकीका बिचमा हामि छौं, भारत र चीनका केहि प्रतिशतलाइ मात्र नेपाल ल्याउन सके पनि नेपालको पर्यटन क्षेत्रले ठुलो फड्को मार्न सक्छ । मक्कामा प्रत्येक वर्ष १२ मिलियन धार्मिक पर्यटक जाने दृष्टान्त दिंदै उनले लुम्बिनी र पशुपतिनाथलाइ मक्का जस्तै बनाउन सके चिनीया र भारतीय पर्यटक सजिलै भित्राउन सकिने उनको भनाइ छ ।

आन्तरिक पर्यटन विकासमा पनि उनको उत्तिक्कै चासो छ । ‘ब्याक टु रुट्स’ भन्ने अभियानमार्फत लाखौ युवाहरुलाई आफ्नो गाउँमा पुर्याउने योजना बनाएको भन्दै उनले यस्ता खाले अभियानले आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पर्यटकले नेपालीको बानि ब्यहोरालाई राम्रो मान्ने गरेको भन्दै संयोजक बैद्यले सगरमाथा र लुम्बिनी भन्दा पनि नेपालीपनले पार्ने प्रभाव निकै बलियो हुने बताए । अतिथिलाई देवता सरह मानेर सत्कार गर्ने हाम्रो मौलिक परम्परालाई जोगाइराख्नु पर्छ । घरमा पाहुना आउछन् भने घर सफा राख्ने, मिठो खाना खुवाउने र सत्कार गर्ने काम हाम्रो हो, त्यसतर्फ हामी सबै जिम्मेवार बन्नुपर्छ, उनले भने । कुराकानीलाई टुंग्याउदै संयोजक बैद्यले अहिले योजना निर्माणका आन्तरिक काम भैरहेको भन्दै छिट्टै रिजल्ट देखिनेमा विश्वस्त हुन् आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार