अब नेपालमै गाडी उत्पादन हुने, कति पर्ला मूल्य ?

काठमाडौँ । १ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले कोरियाली कम्पनी मोट्रेक्सलाई ‘भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्ली प्लाण्ट’ राख्न अनुमति दियो ।

सो कम्पनीले गाडी उत्पादन र एसेम्बलिङ प्लाण्ट राख्नको लागि सरकारबाट १० अर्ब ५४ करोड रुपैयाँ लगानीको स्वीकृति पनि पायो ।

कम्पनीले गाडी उत्पादनको स्वीकृति पाएको हो ?
लगानी बोर्डले मोट्रेक्सलाई गाडी उत्पादन र एसेम्बलिङको लागि सैद्धान्तिक सहमति मात्रै दिएको हो । लगानी बोर्डका अनुसार यस्तो सहमति प्राप्त भएपछि कम्पनीले सम्भाव्यता अध्ययन गराउँछ । सम्भाव्यता अध्ययनपछि मात्रै कम्पनीले नेपालमा प्लाण्ट राख्ने नराख्ने यकिन हुनेछ ।

सम्भव छ नेपालमा गाडी उत्पादन ?
सम्भव नहुने भन्ने हुँदैन । गाडी विक्री गर्दै आएका अधिकृत विक्रेताहरु नेपालमा गाडी उत्पादनको सम्भावना रहेको बताउँछन् । तर, टाटाले करिब १५ बर्ष अगाडि गरेको सम्भाव्यता अध्ययनले नेपालमा गाडी बनाउने प्लाण्ट राख्न ४ खर्ब जति रुपैयाँ लाग्ने अनुमान निकालेको थियो । यस्तै नेपालको लागि आवश्यक मात्रै गाडी उत्पादन गर्दा उत्पादन लागत बढी हुने र छिमेकी बजार भारत र चीनको सीमा क्षेत्रमा गाडी निर्यात गर्न प्रतिस्पर्धी क्षमता तथा उत्पादन लागतको हिसाबले सम्भव नहुने देखिएपछि टाटा मोटर्स नेपालमा प्लाण्ट राख्ने योजनाबाट पछि हटेको थियो ।

यस्तै हुण्डाई गाडीको पनि नेपालमा एसेम्बलिङ प्लाण्ट राख्ने गृहकार्य अगाडि बढेको थियो । उसले पनि उत्पादन लागत धेरै हुने तथ्य फेलापरेपछि सो कार्यबाट पछि हटेको थियो ।

एउटै गाडीमा २३ हजार आइटम
सम्बन्धित क्षेत्रका विज्ञहरुका अनुसार एउटा गाडीमा सरदर २३ हजार आइटम प्रयोग हुन्छन् । नेपालमै गाडी उत्पादन गर्ने हो भने सो संख्याका आइटम उत्पादन वा एसेम्बलिङ गर्नुपर्ने हुन्छ ।

किन चाहिन्छ ४ खर्ब लगानी ?
नेपालमा गाडीका आधिकारिक विक्रेताहरुले यहाँ गाडी उत्पादन वा एसेम्बलिङ प्लाण्ट राख्न ४ खर्ब रुपैयाँ जति लगानी आवश्यक पर्ने बताएका छन् ।

‘सुरुमै गाडी उत्पादन यहीँ हुने होइन, एसेम्बलिङ प्लाण्ट मात्रै राख्ने हो, तर पनि करिब २३ हजार आइटम उत्पादन वा फिटिङ गर्नुपर्ने हुँदा ठूलो संख्यामा जनशक्ति, करिब १ सय विगाहा जमीन र अन्य पूर्वाधार पनि आवश्यक पर्छ, यसको लागि कम्तिमा पनि ४ खर्ब रुपैयाँ लाग्ने अनुमान हाम्रो हो,’ एक व्यवसायीले भने ।

गाडी एसेम्बलिङको पहिलो प्रयास हो ?
होइन । यसअघि गोल्छा अर्गनाइजेसनले शेर्पा, मुस्ताङ, मुस्ताङ म्याक्स गाडी नेपालमै एसेम्बलिङ गरेको थियो । ती गाडी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रयोग गरेपछि चर्चा पनि भएको थियो । तर, आर्थिक सम्भाव्यता लगायतका कारणले गोल्छा अर्गनाइजेसनको एसेम्बलिङ बन्द भएको छ ।

सोभन्दा अगाडि नै कस्मिक एयर ग्रुपले कस्मिक यिङयाङ बाइकको नेपालमै एसेम्बलिङ गरेको थियो । सो ग्रुपले पनि उत्पादन लागत बढी भएको र विक्री कम भएपछि उत्पादन बन्द गरेको थियो ।

यस्तै गोल्छा अर्गनाइजेसनले अहिले पनि मोटरसाइकलको एसेम्बलिङ गरिरहेको छ । तर, उसले पनि आयातित मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको बताइएको छ ।

नेपालमै उत्पादन भए सस्तोमा आउँला गाडी ?
अहिलेको नीतिगत व्यवस्थाले नेपालमै गाडी उत्पादन भएपनि सस्तो पर्ने सम्भावना नभएको व्यवसायीहरु बताउँछन् । तयारी गाडीको साटो पार्टस् ल्याएर नेपालमा एसेम्बलिङ गर्दा २५ प्रतिशत भन्सार छुटको सुविधा भने छ ।

यस्तो सुविधा भएपनि सरकारले यहाँ उत्पादन हुने गाडीमा अन्तःशुल्क लिन्छ । अन्य सुविधा छैन । त्यसैकारण नेपालमै गाडी उत्पादन भएपनि अहिलेको नीतिगत व्यवस्थाले सस्तोमा पाइने सम्भावना निकै कम रहेको व्यवसायी बताउँछन् ।

विदेशबाट नेपालमा गाडी आयात गर्दा २५० प्रतिशतसम्म भन्सार महशुल तिर्नुपर्छ । नेपालमै गाडी उत्पादन भए यो शुल्क तिर्नु पर्दैन । यसैकारण केही सस्तो हुन सक्ने व्यवसायीको भनाइ छ । – शिलापत्र

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार