पाकिस्तानले भारतीय राष्ट्रपतिलाई आफ्नो हवाईमार्ग प्रगोग गर्न नदिने भएको छ । हवाइमार्ग प्रयोगका लागि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले गरेको अनुरोध पाकिस्तानले खारेज गरि दिएको छ ।
पछिल्लो समय कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । कश्मीरको विषयलाई लिएर दुई देशबीच बढिरहेको तनावकाबीच पाकिस्तानले यस्तो निर्णय लिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानी अधिकारीहरुले भारतीय सरकारको गलत रवैयाका कारण यस्तो अवस्था सृजना भएको दावी गरेका छन् । पाकिस्तानले यो निर्णय गत शनिबार नै लिएको थियो ।
‘भारतीय राष्ट्रपतिले आफू आइसल्याण्डको भ्रमणमा जान लागेको र सो क्रममा पाकिस्तानी आकाश प्रयोग गर्नुपर्ने भएकोले अनुमति दिन पकिस्तानसंग माग गरेका थिए । तर हामीले त्यसलाई अस्वीकृत गर्ने निर्णय गर्यौं’, पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसीले थप जानकारी नदिइ भने, ‘निर्णय भारतको व्यवहारलाई हेरेर लिइएको हो।’
पाकिस्तानको प्रसिद्ध समाचारपत्र ‘डन’ ले भने सामान्यतया यस्ता अवस्थामा अनुमति दिइने गरिएको उल्लेख गरेको छ । डनकाअनुसार भारतले यसको प्रतिक्रिया दिएको छैन ।
पाकिस्तानले गत फेब्रुअरी महिनामा भारत र पाकिस्तानबीच भएको हवाई टक्कर पछि उत्पन्न तनावलाई लिएर आफ्नो हवाई क्षेत्र भारतको लागि बन्द गरि दिएको थियो । तर गत जुलाईमा मुख्य(मुख्य हवाई रुटमाथि असर पर्न गएकोले फेरी आफ्नो आकाश खुला गरि दिएको थियो ।
यसै वर्षको जुन १३ र १४ मा किर्घिजिस्तानको राजधानी बिस्केकमा भएको संघाई को-अपरेसन्स अर्गनाइजेसन (एससीओ)को वार्षिक बैठकमा भाग लिन जाने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसंग यस्तै अनुरोध गर्दा पाकिस्तानले अनुमति दिएको थिएन । सो बखत मोदी भारतबाट ओमन हुँदै बिस्केक पुगेका थिए ।
जनदिशाबाट













