बर्दिबास । महोत्तरीको बर्दिबासमा शहीद कृष्ण ब. राना मगर र भगवती स्याङ्वा स्मृति प्रथम गोल्ड कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।
संमृद्ध समाज बर्दिबासको आयोजनामा संचालन भैरहेको प्रदेशस्तरीय प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतिगोगितामा न्यू जनचेतना क्लव चपुर, समृद्ध समाज बर्दिबास-ए, भिमान युवा क्लव सिन्धुली, बागमती युवा क्लव सर्लाही, वीरगंज युनाइटेड पर्सा, समृद्ध समाज बर्दिबास-बि, जनकपुर फुटबल क्लव जनकपुर र प्रतिभा संरक्षण युवा क्लव गोल बजारले भाग लिएको आयोजकले जनाएको छ ।

मङ्सिर २७ गतेसम्म आयोजना हुने प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच भव्य रुपमा उद्घाटन गरिएको हो । उद्दघाटन समारोहलाई सम्बोधन गर्दै समृद्ध समाजका संरक्षकसमेत रहेका सत्तारुढ नेकपाका नेता टेक बहादुर बलम्पाकीले युवाहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको भन्दै खुसि व्यक्त गरे । उनले युवाहरुमा राष्ट्रियताको भावना जागृत गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको पनि बताए । खेल क्षेत्रको विकासमा यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै नेता बलम्पाकीले आयोजकलाई धन्यवाद दिए ।

पञ्चायती व्यवस्थाका विरुद्ध २०३६ सालमा शहादत प्राप्त गरेका कृष्ण ब. राना मगर र माओवादी जनयुद्दमा शहादत प्राप्त गरेकी भगवती स्याङ्बाको सम्मानमा प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका अध्यक्ष दिपक भुजेलले बताए । उनले आगामी दिनमा समाजले युवा लक्षित अन्य कार्यक्रमहरु पनि संचालन गर्ने जानकारी दिए ।

प्रतिगोगितामा प्रथम हुने टिमलाई ५० हजार र द्धितिय हुने टिमलाई ३० हजार रुपियाँ नगदसहित मेडल र शिल्ड पुरस्कार रहेको आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फर्वार्ड र उत्कृष्ट डिफेन्स गरि चार जनालाई जनही पाँच हजार रुपैया र प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगिता बर्दिबास नगरपालिका-८ हात्तिलेटमा रहेको खेल मैदानमा भैरहेको छ । उद्धघाटन खेलमा समृद्ध समाज बर्दिबास-बि र जनकपुर फुटबल क्लवबीच प्रतिष्पर्धा भएको थियो । खेलमा समृद्ध समाज बर्दिबास-बि ले २ का बिरुद्ध ४ गोल गर्दै पहिलो जित दर्ता गरेको थियो ।
















