राजनैतिक हिसावले माओवादी नेतृत्वदायी अवस्थामा छ : प्रभाकर

राजनैतिक हिसावले माओवादी नेतृत्वदायी अवस्थामा छ : प्रभाकर


नया प्रबाह
3.2k
Shares

सानै उमेरमा राजनीतिमा लाग्नुभएका मेघनाथ घिमिरे प्रभाकर जनयुद्धको कठिन समयमा भूमिगत हुनुभएको थियो । बहुदल आएलगत्तै विद्यार्थी राजनीतिमा जोडिनुभएका उहाँ छँदाखाँदाको शिक्षकको जागिर छोडेर संकटकालका बेला युद्धमा होमिनुभएको हो ।

नेपाली समाजमा व्याप्त शोषण, विभेद र उत्पीडनका विरुद्ध बिद्रोही चेत बोकेर जनयुद्धको कठिनतम बेला युद्ध मोर्चामा काम गर्नुभएका प्रभाकर अहिले नेकपा माओवादी केन्द्र रसुवाको संयोजक हुनुहुन्छ । विभाजनले कम्जोर भएको रसुवाको माओवादी आन्दोलन तन्ग्रिदै छ । त्यसैले अहिले पार्टीको नेतृत्व सम्हान आइपुग्नुभएका उहाँलाई अवसरसँगै चुनौती पनि छ ।

संगसंगै यतिबेला मुलुक स्थानीय निर्वाचनको संघारमा छ । माओवादी आन्दोलनको बलमा स्थापित भएको परिवर्तनका मुद्धा संस्थागत गर्नुपर्ने राष्ट्रिय कार्यभार माओवादीकै काँधमा छ । माओवादीको चुनावी सफलता र असफलतासँगै परिवर्तनका मुद्धा संस्थागत हुने कि नहुने भन्ने प्रश्न प्रत्यक्ष जोडिने निश्चितै छ । त्यसैले चुनावमा परिणाममुखी नतिजा निकाल्न जिल्लामा सिंगो पार्टीलाई एकतावद्ध बनाएर चुनावमा होमिनुपर्ने जिम्मेवारी पनि प्रभाकरको काँधमा छ ।

गत स्थानीय तह निर्वाचनमा जिल्लाको उत्तरगया गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नुभएका प्रभाकर पराजित हुनुभएको थियो । तर, अहिले परिस्थिति बद्लिएको छ र सांगठनिक रुपले माओवादी केन्द्र सुदृढ भएको छ । यिनै सन्दर्भमा संयोजक प्रभाकरसँग गरिएको कुराकानी :

तपाईको राजनैतिक जीवनबारे केही बताइदिनुस् न ?

मेरो राजनीतिक आबद्धता २०४७ सालमा कक्षा ७ मा अध्ययन हुँदादेखि सुरु भएको हो । २०४९ सालमा कालिका हिमालय माध्यमिक विद्यालयमा भएकोे अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सदस्य चयन भइ २०५४ बाट क्रान्तिकारी शिक्षक संगठनमा आवद्ध भइयो । २०५५ सालबाट नेकपा माओवादीको पार्टी सदस्य हुँदै २०५४ सालबाट श्री नवविजय महेन्द्र निम्न माध्यमिक विद्यालय भलायडाडामा प्राथाकिम विद्यालयमा शिक्षक भइ काम गरियो । २०५८ साल मंसिर ११ गते संकटकाल लागेपछि जागिर छोडेर माओवादीको पुर्णकालीन (होल टाइमर) भई पार्टीमा लागेको हो ।

२०५८ सालमा इलाका कमिटी सदस्य २०५९ सालमा इलाका कमिटी सचिव २०६० सालमा जिल्ला कमिटी सदस्य (रसुवा–नुवाकोट–धादिङ) २०६० पौषबाट चितवन जिल्ला सचिवालय सदस्य भई काम गरें ।

२०६२ सालबाट जनमुक्ति सेना (बासु स्मृति बृगेट) अन्तर्गत कम्पनी कमिसार थिए । २०६२/६३ को जनाअन्दोलनमा पार्टीले चितवनको भरतपुरको कमान्ड दिएको थियो । २०६३ सालपछि शक्तिखोर ब्यारेकबाट राजनैनिक कामको रुपमा चितवनमै रहेँ । २०६४ सालको चुनावको लागि रसुवा सरुवा भइ निरन्तर रसुवाको राजनीतिमा क्रियाशील छु । २०६५ सालमा योङ्ग कम्युनिष्ट लिगको जिल्ला अध्यक्ष हुँदै २०६६ देखि केन्द्रीय सदस्य भएको थिएँ ।

२०६७ सालबाट पार्टीको रसुवा जिल्ला सहसचिव तथा ताम्सालिङ राज्य समिति सदस्य भएर काम गरे । २०७५ सालमा माओवादी केन्द्र र एमालेबीच एकता भइ नेकपा हुँदा  बाग्मती प्रदेश कमिटी सदस्यको जिम्मा पाएको थिएँ । माओवादी केन्द्र पुनर्स्थापित भएपछि २०७८ मंसिर २५/२६ गतेको प्रथम बागमती प्रदेश सम्मेलनबाट प्रदेश सदस्य निर्वाचित भएँ । फागुनको ११ र १२ को बैठकबाट बागमती प्रदेश सचिवालय सदस्य तथा पार्टीको रसुवाको समन्वय समिति संयोजक बनेको छु ।

यसका साथै २०७४ को स्थानीय चुनावमा उत्तरगया गाउँपालिकाको अध्यक्षको उमेदवार भएर जनतामा जाने अवसर मैले पाएको थिएँ । २०७४ सालदेखि २०७७ सम्म कालिका हिमालय माध्यमिक विद्यालय/कलिका हिमालय क्याम्पसको अध्यक्षका रुपमा पनि भूमिका खेलें ।

तपाईं त संकटकालका बेला सरकारी जागिर छोडेर युद्धमा लागेको मान्छे, जनयुद्धले के कस्ता उपलव्धि हासिल गरेको छ ?

नेपालमा भएको माओवादी जनयुद्धले मूलत: राजनैतिक परिवर्तन गर्न सफल भएको छ । नेपाल लामो समयदेखि सामन्तवादी राज्य प्रणालीमा थियो । नेपालमा निर्वाचन हुने भए पनि राज्यका महत्वपूर्ण पदमा शासकका सन्तान दरसन्तानले नेतृत्व गर्ने प्रणाली थियो । जसले गर्दा सार्वभौम सत्ता राजामा केन्द्रित हुन्थ्यो । माओवादी जनयुद्धले नेपालको सार्वभौमसत्ता जनतामा केन्द्रित गरेको छ । अब नेपालका सबै राजकीय संस्थाहरुमा नेपाली जनता स्वतन्त्र रुपमा निर्वाचित भएर नेतृत्व गर्ने स्थिति माओवादीे जनयुद्धले स्थापित गरेको हो । जसलाई अहिले हामी गणतन्त्र भनेर परिभाषित गरिरहेका छौँ । गणतन्त्रले नेपालको एकात्मक राज्य प्रणालीमा परिवर्तन गरेर संघात्मक राज्य प्रणाली विकास गरेको छ । जसका कारण केन्द्रमा मात्र रहेका सरकारका प्रतिनिधिमूलक संस्थाहरु गाउँ गाउँमा आइपुगेका छन् । केन्द्र, प्रदेश, स्थानीय तह गरी तीन तहमा सरकारहरु निर्माण हुनुमा माओवादी जनयुद्धको योगदान रहेको छ ।

सरकारका सम्पूर्ण अवयव तथा संस्थाहरुमा निश्चित वर्ग, जात, धर्म, लिङ्ग, वर्णका मानिसलाई अग्राधिकार हुने र निश्चित वर्ग, जात, धर्र्म, लिङ्ग, वर्णका मानिसहरु ती संस्थामा प्रतिनिधित्व गर्न नपाउने प्रकारको राज्य हामीले लामो समयदेखि भोगी आएका थियौँ । जसले गर्दा समाजका ७५ प्रतिशत मानिसले राज्यको मूलधारमा समाहित हुने अवसर पाएका थिएनन् । माओवादी जनयुद्धले यी सबै राज्यको मूलधारमा समाहित हुने अवसर नपाएका महिला, जनजाति, दलित, मुुस्लिम, थारु, पिछडिएको क्षेत्रलाई राज्यको मूलधारमा समानुपाति समावेशिताको आधारमा समाहित हुने अवसर प्रदान गरेको छ ।

नेपालमा राजतन्त्र पूर्ण विकसित भएपछि हिन्दू धर्मलाई नेपालको धर्मको रुपमा कानूनी रुपमा मान्यता प्रदान गरिएको थियो । जुन कुरालाई राजा महेन्द्रले अझ व्यवस्थित गरेका थिए । माओवादी जनयुद्धले राज्यको औपचारिक संरक्षणमा कुनै धर्म विकासित हुन नसक्ने मान्यता स्थापित गरेर नेपालमा रहेका सबै धर्मलाई राज्यले समान व्यवहार गर्न पर्ने मुद्दा स्थापित गरको छ । जसलार्ई हामीले संविधानमा धर्म निरपेक्षता भनि व्याख्या गरेका छौँ । जसले गर्दा दक्षिण एसियामा विकसित ३५ सय वर्ष यताको एकात्मक समाज विज्ञानलाई बदलेर समाजलाई सम्पूर्णतामा विकास गरेको छ ।

माओवादी केन्द्रले रसुवामा के कस्ता विकास निर्माणमा योगदान पुर्याएको छ, जसका कारण माओवादीप्रति जनताले गर्व गर्न सक्छन् ?

रसुवाको राजनीतिक इतिहासमा माओवादी केन्द्र औपचारिक रुपमा सक्रिय भएको करिव १५ वर्ष मात्र भएको छ । १५ वर्ष भनेको एक युगको अनुपातमा हेर्ने हो भने एक निमेष पनि होइन । तर पनि रसुवामा बाम आन्दोलन भने पञ्चायतको अन्त्यतिरबाट नै विकसित भएको हो । यो बाम आन्दोलनले यहाँको सामन्ती उत्पीडन विरुद्धको चेतना विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । रसुवामा लामो समय पञ्चायतका पञ्च र कांग्रेसका नेताहरु नै बढी सक्रिय थिए । एमाले पनि २०२८ सालदेखि नै कुनै न कुनै रुपमा सक्रिय थियो । उनीहरु राजनीतिमा सक्रिय भएको समयमा रसुवाको जनशक्ति विकास हुनै सकेन । साथै, भौतिक पूर्वाधारको विकास पनि शून्यप्रायः नै थियो । जसका कारण अहिले पनि रसुवाली जनता अन्य जिल्लाका जनताहरु भन्दा कमजोर अवस्थामा बाचिरहेको अवस्था छ ।

माओवादी केन्द्रको १५ वर्षको राजनीतिक सक्रियतामा रसुवाको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुगेको छ । हामीले रसुवाली जनताको सहभागिता र पार्टी केन्द्रका नेताहरु वर्षमान पुन अनन्त, कृष्ण बहादुर महराको पहलमा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट नै पहलकदमी लिएर स्थानीय जनतालाई चिलिमे जलविद्युत आयोजनामा १० प्रतिशत शेयर वितरण गराएका छौँ । यो काम नेपालकै नमूना कामको रुपमा स्थापित भएको छ । यो घटनापछि नै नेपालभर स्थानीय जनतालाई शेयर वितरण गर्ने कानूनी व्यवस्था भएको हो ।

हामीले सडक सञ्जाललाई प्राथमिकतामा राखेका थियौँ । बुनुवा–कर्मिडाडाँ–ढुँगे– चिउरीबोट सडक सुरुवात गरेर हामीले नै निर्माण सम्पन्न गरेका हौँ । बेत्रावती–सालघारी–सिम्ले–पाखोला सडक हामीले नै १ वर्षमा निर्माण सम्पन्न गरेको हो । जुन सडकलाई हाम्रो पार्टीका नेता स्वर्गीय पोष्ट बहादुर बोगटीले उद्घाटन गरी बस सेवासमेत सञ्चालनमा ल्याउनु भएको थियो । यहाँबाट भोर्ले हुँदै सरमथली जोड्ने सडक पनि हामीले नै विकसित गरेको सोचको परिणाम हो । जुन सडक अहिले यार्सासम्म पुगिसकेको छ ।
वर्षौदेखि स्याउवारीबाट अगाडी बढ्न नसकेको स्याउँवारी लोकिल हुँदै यार्सा जाने सडक हामीले नै निर्माण गरेका हौँ । कालिकास्थान घुम्तीदेखि जिवजिवेको सडक सुरुवात गर्नेदेखि घलेगाउँ हुँदै किमार्जुङ–सरस्यु–घोर्मु सडकको निर्माण सम्पन्न हामीले नै गरेका हौँ ।

लच्याङ हुँदै सरमथली ल्याउने सडक हाम्रो पहलकदमीमा निर्माण सम्पन्न भएको हो । यार्साको पानी नुवाकोट लैजाँदै गर्दा सोको सट्टा सडक सञ्चालनबाट सरमथली, यार्सा, सडक सम्झौता गरी निर्माण सम्पन्न गर्न स्थानीय जनताको संघर्ष र माओवादीको पहलकदमीका कारण सम्भव भएको हो ।

भार्खुदेखि ठूलो स्याफ्रुको सडक निर्माण जनमुक्ति सेनाकै शिविर निर्माण गरेर तत्कालीन प्रशासन र लाङटाङ राष्ट्रिय निकुञ्जसँग संघर्ष गर्दै स्थानीय जनताको आवश्यकतालाई मध्यनजर गर्दै माओवादीले नै निर्माण सम्पन्न गरेको हो । बृद्धिम जाने सडक, थुमन जाने सडक निर्माण माओवादीले गरेको हो । रोङ्गाबाट चिलिमे जाने सडक, चिमिलेबाट गत्लाङ जाने सडक, वाहुनडाँडा हुँदै ग्रे–हाकु– कर्मयाङ–डाँडागाउँ–ठूलोगाउँ हुँदै नुवाकोटको सातदोवाटो जोड्ने सडक माओवादीकै नेतृत्वमा रातो किताबमा पारेर अभियानका रुपमा हालसम्म पनि निर्माण भइरहेको छ ।

अर्चले पैरे–ठूलोगाउँ पैरे–डाँडागाउँ हुँदै खड्कु जाने सडक माओवादीको नेतृत्वमा निर्माण गरिएको हो । धारापानी–तारुके सडक, कर्मिडाँडा–मनिगाउँ–भलायाँडाँडा हुँदै पैरेवेशी सडक, जिवजिवे–धारापानी–रुसेपानी–धुसेनी सडक, राम्चे–पलेप सडक, धुन्चे–नागुङ–धुन्चे भिमली सडक निर्माण माओवादीको सोच र नेतृत्वको परिणाम हो । जुन निर्माण सम्पन्न भइसकेको अवस्था छ ।

त्यसोभए अहिले रसुवामा माओवादी पार्टीको अवस्था चैं कस्तो छ ?

रसुवामा माओवादी केन्द्रको सांगठनिक स्थिति राम्रो रहेको छ । हाम्रो पार्टीको पाँचवटै स्थानीय तहमा सांगठनिक संरचना छ । हाम्रा सबै जनवर्गीय संगठन क्रियाशील अवस्थामा छन् । जिल्लास्तरीय संरचना पनि क्रियाशील छ ।

राजनैतिक हिसावले पनि हामी जिल्लामा नेतृत्वदायी अवस्थामा छौँ । माओवादीको राजनैतिक नेतृत्वले गर्दा नै अहिलेसम्म रसुवागढी भन्सारका समस्या समाधान हुन सकेका छन् भने जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनाहरुले स्थानीय आदिवासी जनजातिहरुको हक स्थापित हुन सकेको छ ।

माओवादीको नेतृत्वदायी अवस्थाले गर्दा नै जिल्लाका विषयगत कार्यालयहरुको कार्य सम्पादनमा सहजता सिर्जना भएको छ । प्रशासन र जनताबीचको सम्बन्ध सुमधुर हुन पुगेको छ । र, प्रशासनलाई जनमुखी बनाउन सकिएको छ । यी सबै कारणले रसुवामा माओवादी केन्द्रको अवस्था नेतृत्वदायी रहेको छ ।

मुद्दामा तपाईहरुको नेतृत्वदायी अवस्था भएपनि निर्वाचनमा विजयी हुन नसकेको देखिएको छ, यसको कारण के पाउनु हुन्छ ?

यो प्रश्न गम्भीर र महत्वपूर्ण छ । देश सञ्चालन गर्ने नीति हाम्रो हुने तर रसुवा जिल्लामा सरकारी तहको नेतृत्व चाहिँ अरुको नै हुने देखिएको छ । यसलाई जनताले हामीलाई साथ नदिएको भनेर बुझ्न भने मिल्दैन । सरकारी तहको नेतृत्व भनेको नितान्त चुनावी परिणाम हो । नेपालको निर्वाचनमा निर्वाचन आयोग सक्रिय नै छ । नीति नियमहरु पनि राम्रा नै छन् । तर, कार्यान्वयनको स्थिति भने कमजोर रहेको छ । यही स्थितिका कारण नेपालमा निर्वाचन अभ्यासहरु स्वास्थ्य हुन सकेका छैनन् । निर्वाचनबाट शुद्ध राजनीतिज्ञभन्दा पेशा व्यवसायी, उद्योगी, ठेक्कापट्टा गर्ने निर्माण व्यवसायी नै विजयी हुने अवस्था विकसित भएको छ । माओवादीका नेताहरु लामो समयदेखि राजनीतिमा मात्र संलग्न भएर आएको अवस्थाका कारण आर्थिक रुपमा कमजोर भएको फाइदा उठाएर कम राजनीतिक चरित्र भएका व्यक्तिहरुमा निर्वाचनमा विजयी भएको देखिएको छ । यसलाई हेर्दा त हामीले हारेको नै हो तर राजनैतिक रुपमा हारेको छैन ।

माओवादी केन्द्र रसुवाको भावी योजना के छ त ?

संगठनलाई व्यवस्थित गर्ने, विधानअनुसार पार्टी संगठनलाई सञ्चालन गर्ने, नेतृत्व निर्माण प्रक्रियालाई व्यवस्थित गर्ने र नेता कार्यकर्ता तयार गरी आगामी २० देखि ५० वर्षसम्मको नेतृत्व गर्न सक्ने योग्य कार्यकर्ता तयार गर्ने सांगठनिक योजना छ । मालेमावादको वैचारिक सैद्धान्तिक पक्षमा योगदान गर्दै जनता र कार्यकर्तालाई प्रशिक्षित गर्ने, वास्तविक कम्युनिष्ट आचरण, व्यवहार, आदर्श स्थापित गर्ने र जनताले भरोसा गर्ने पार्टी बनाउने योजना रहेको छ ।

पार्टी भनेको कुनै अदृश्य बस्तु होइन । समाजभित्रका व्यक्ति तथा समुदायबाट बन्ने हो । समाजका विकृति विसङ्गति विरुद्ध लड्नु, कम्युनिष्ट आदर्शको संस्कार, संस्कृति निर्माण गर्नु र समाजलाई त्यही रुपमा रुपान्तरित गर्न प्रयास गर्नु नै हाम्रो पार्टीको आगामी योजनाका रुपमा रहेको छ ।

रसुवा जिल्लाको मुख्य समस्या भनेको भ्रष्टाचार नै हो । पार्टीहरुले यस्ता भ्रष्टाचारलाई रोक्न सक्छन् । पार्टीहरुमा त्यस्तो नेतृत्वको आवश्यक छ । हामी हरेका पार्टीमा यस्ता नेतृत्व निर्माण हुन भन्ने अभियानमा छौँ । हामी रसुवाको प्राकृतिक स्रोत साधनको उपयोग रसुवाली जनताले नै गर्न पाउनु पर्छ भन्ने पक्षमा छौँ । अहिले ठेकेदार र ठूला व्यापारीहरुले यहाँका केही सरकारी नेता र प्रशासनको सहयोगमा उपयोग गरिरहेका छन् । यसले गर्दा आम रसुवाली जनताको अधिकार खुम्चिएको छ । हाम्रो पार्टी यस्ता विषयहरुमा आम रसुवाली जनताको पक्ष सँधै रही आएको छ र रहने छ ।

रसुवाका पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्ने, रसुुवागढी नाकालाई व्यवस्थित गर्ने र रसुवाको जलविद्युतलाई रसुवालीको रोजगारीसँग जोडेर व्यवस्थापन गर्नु पर्ने छ । जल, जंगल, जडिबुटी जस्ता सबै प्राकृतिक स्रोतको उचित प्रयोग गर्नु पर्नेछ ।

स्थानीय तहमा हाम्रो पार्टीको उपस्थिति कमजोर भएको समयमा अन्य पार्टीहरुको कामकारबाहीप्रति आम रसुवालीहरुको व्यापक गुनासो बढेको अवस्था छ । स्थानीय जनताको आवश्यकतालाई अपनाएर सोही बमोजिम कार्यान्वयन गर्नका लागि पार्टी आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित भइरहेको छ ।

संविधानले परिकल्पना गरेको लोकतान्त्रिक समाजवादी मार्गमा समाजलाई लैजान तथा सामाजिक न्याय सहितको विकासको अनुभूति गर्न यो पटक हामीले निर्वाचन जित्नु पर्ने छ । म आम रसुवाली जनतालाई आफ्नो अमूल्य मत पैसामा खरिद बिक्री नगरी विवेकपूर्ण रुपमा दिई माओवादी केन्द्रलाई विजयी बनाउन पनि अपिल गर्दछु । धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार