विस्थापित परिवारलाई लालपुर्जा वितरण (फोटो फिचर)

रसुवा । भूकम्पका कारण आफ्नो बासथलोमा पहिरो गई जमिन बसोबास गर्न योग्य नभएका र हाल अस्थायी शिविरमा बसोबास गरिरहेका भूकम्प पिडित परिवारलाई सुरक्षितस्थानमा बसोबास गर्नको लागि लालपुर्जा वितरण गरिएको छ । साविकको डाडाँगाउँ गाविस वडा नं. ८ र ९ का  ५४  पिडित परिवारलाई सुरक्षितस्थानमा जग्गाको व्यवस्थापन गरी लालपुर्जा वितरण गरिएको हो ।

शुक्रबार उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारस्थित विस्थापित शिविरमै एक कार्यक्रमको आयोजना गरि लालपुर्जा वितरण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय, उत्तरगया गाउँपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्चको संयुक्त आयोजनामा लालपुर्जा वितरण कार्यक्रम गरिएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका विश्वास नेपालीले बताए ।

बिस्थापित परिवारलाइ नेपाली कांग्रेस रसुवाका नेता एबम प्रतिनिधि सभा सांसद सांसद् मोहन आचार्यले पुर्जा हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रदेश सभा सांसद् प्रेम तामाङ, जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टकोसमेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय प्रमुख कृष्णकान्त उपाध्याय, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संस्थागत विकास सल्लाहकार जगत बस्नेत, जिल्ला भूमि अधिकार मञ्चका संस्थापक अध्यक्ष एवम् कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, भूमि अधिकार मञ्चकी पूर्व अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी सदस्य चित्रकुमारी न्यौपाने, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली, वडाहरू बमबहादुर तामाङ, इश्वर थापाल, पत्रकार महासंघका उपाध्यक्ष प्रेम पौडेललगायत सहभागी भएका थिए ।

भूकम्पका कारण आफ्नो घरबार विहीन भई आफ्नो पुरानो ठाउँमा बसोबास गर्न योग्य नभएका परिवार लामो समयदेखि विस्थापित शिविरमा बसोबास गर्दै आइरहेका छन् । आज भएको कार्यक्रममा बोगटीटार विस्थापित शिविरमा बसोबास गर्दै आएका ४८ परिवार र शान्तिबजार विस्थापित शिविरमा बसोबास गर्दै आइरहेका ६ परिवारलाई सुरक्षितस्थानमा पुनर्वास गराउनको लागि खरिद गरीएको जग्गाको लालपुर्जा वितरण गरिएको हो । कार्यक्रमको अवसरमा सहभागी प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि र सम्पूर्ण अतिथिहरूले विस्थापित परिवारलाई सहभागीतामूलक पद्दतीबाट लालपुर्जा वितरण गरिएको जिल्ला भूमि अधिकार मञ्चका सचिव हेमनाथ खतिवडाले बताए ।

विस्थापित परिवारले ४ आनाको दरले जग्गा खरिद गरेका छन् । उनीहरूलाई जग्गा खरिद गर्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २ लाख रुपियाँ उपलब्ध गराएको थियो । ५४ परिवारले १२–१५–३–१ रोपनी क्षेत्रफलको जमिन खरिद गरेका छन् । ४८ परिवार बोगटीटारमा नै पुनर्वासमा जाने योजनमा छन् भने ६ परिवार शान्ति बजार (नुवाकोट)मा बसोबास गर्ने योजनामा छन् । उनीहरूले स्थानीय केशव आचार्य, मधुसुदन आचार्य, भीमप्रसाद आचार्य, विनोद आचार्य, केदारप्रसाद आचार्य, रामप्रसाद लामिछाने, बसन्त लामिछानेको र गुणराज न्यौपानेको जग्गा खरिद गरेका हुन् ।

कार्यक्रममा सहभागी हुँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सचिवालय प्रमुख कृष्णकान्त उपाध्यायले जग्गा खरिद गर्नको लागि विस्थापित परिवारलाई २ लाख रुपियाँ उपलब्ध गराइएको र जग्गा पनि खरिद भइसकेको हुँदा तीन महिनाभित्र घर बनाउन सबै परिवारलाई आग्रह गरे । उनले विस्थापित परिवारको पुनर्वास र बाँकी परिवारलाई जग्गा खोजी र खरिद गर्ने प्रक्रियामा सहयोग तथा सहजीकरण गर्नको लागिसमेत आग्रह गरे ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संस्थागत विकास सल्लाहाकार जगत बस्नेतले सबै सहभागी तथा उपस्थित अतिथिहरूलाई आफ्नो भनाई राख्दै स्वागत गरेका थिए । उनले पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरी जोखीमयुक्त क्षेत्रको घरधुरीको लागि पुनर्वासको लागि कार्यविधि तयार भएको र त्यसलाई कार्यान्वयन गर्ने कार्य फिल्ड तहमा भइरहेको र यी कार्यहरूमा सहजीकरण गरिरहेको बताए । भूकम्प प्रभावित जिल्लाहरूमा विस्थापित परिवारको पुनर्वासको प्रक्रियामा पुनर्निर्माण प्राधिकरणलगायत स्थानीय तहसँग सहकार्य गरी अघि बढीरहेको हुँदा आगामी दिनमा पनि यस्तै सहकार्यको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद् मोहन आचार्यले आफूहरूले रसुवा जिल्लामा रहेका विस्थापित परिवारको सुरक्षित पुनर्वासको लागि एकीकृत पुनर्वासको गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग छलफल गरिरहेको र केही दिनमा धेरै परिवारको समस्या समाधान गरिने जानकारी दिए । उनले समस्यामा रहेका परिवारको समस्या समाधानका लागि आफूहरूले जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘रसुवा जिल्लाको पुनर्निर्माणको मुख्य बाधक सडक सञ्जाल हो, सबै ठाउँमा ढुवानी सहज बनाउन सक्दा मात्र पुनर्निर्माण छिटो हुन्छ । त्यसैले  केही दिनभित्रै सबै स्थानमा सडक सञ्जाल विस्तार र भएको सडकको स्तरोन्नती गर्ने तर्फ हाम्रो ध्यान जानेछ। यसको लागि हामि आफै डोजर व्यवस्थापन गर्न लागिरहेका छौ ।’

प्रदेश सभा सासंद् प्रेम तामाङले विस्थापित परिवारले अति नै कष्ठकर जीवन धान्नु परेको र उनीहरूको पीडा आफूलाई पनि बोध भएको हुँदा एकीकृत बस्ती विकास गरी पुनर्वास गराउनको लागि प्याकेजमा कार्यक्रम सञ्चालन गरिन प्रयास भइरहेको जानकारी दिए । ४ आना जग्गाले विस्थापित परिवारलाई पर्याप्त नहुने भएकाले यस विषयमा पनि सरकारले ध्यानदिनुपर्ने भन्दै उनले लामो समयदेखि विस्थापित शिविरमा बसोबास गरिरहेका परिवारको दैनिकि  झनझन कष्ठकर बन्दै गएको हुँदा उनीहरूको जीविका सुरक्षाको लागि पनि सरोकारवाला निकायले ध्यानदिनुपर्ने बताए ।

जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जिल्लामा रहेका जोखीमयुक्त क्षेत्रका परिवार र विस्थापित परिवारलाई पुनर्वास गराउनको लागि सबैले समन्वय र सहकार्य गर्नु आवश्यक रहेको हुँदा आफूले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, वडा नं. १ का अध्यक्ष बमबहादुर तामाङ, जिल्ला भूमि अधिकार मञ्चका संस्थापक अध्यक्ष एवम् कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले लगायतले धारणा राखेका थिए  । यस्तै, विस्थापित परिवारका अगुवा गादोर्जे तामाङ, मानबहादुर घले र रेप्पा तामाङले विस्थापित शिविरभित्रको दुःख र पीडा राख्दै जति सक्दो चाडो एकीकृत पुनर्वासको लागि सहयोग गर्न अनुरोध गरेका थिए ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले आफ्नो गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी जोखीमयुक्त क्षेत्र भएको र करिव ४ सय  परिवारलाई पुनर्वास गराउनु आवश्यक रहेको बताए । उनले भने,  ‘जिल्ला भूमि अधिकार मञ्च र सामुदायिक आत्मनिर्भर केन्द्रले पनि यो अभियानमा सहयोग गरिरहेका हुँदा अझ सहज भएको छ ।’  आफ्नो अहिलेको प्राथमिकता नै जोखीमयुक्त क्षेत्रका प्रभावित परिवारको व्यवस्थापनको लागि भएको बताउँदै यस अभियानमा सबैका सहयोग आवश्यक रहेको उनले जानकारी दिए  ।

विस्थापित परिवारलाई जग्गा खरिद र दर्ता प्रक्रियाको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरी सामुदायिक आत्मनिर्भर केन्द्र र जिल्ला भूमि अधिकारले सहजीकरण गरिरहेको छ । ५४ मध्ये ४७ परिवारले संयुक्त पुर्जा निर्माण गरी नयाँ खरिद गरीएको जग्गामा महिला र पुरुषको बराबरी स्वामित्य कायम गराएका अभियानमा सहयोग गरिरहेका सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यक्रम संयोजक विश्वास नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार