अनिस तामाङ दुबई
नेपाल आदिवासी जनजाति महासंघ युएई र उक्त महासंघ अन्तर्गत ११ ओटा जातिय संघ संस्थाहरु मिलेर संयुक्तरूपमा २४ औं विश्व आदिवासी जनजाति दिवस-२०१८ मनाउन तिब्र तयारी भइरहेका छन ।
यहीँ आउदो अगष्ट १० तारिखका दिन ” पहिचान,प्रतिनिधित्व र स्वायत्तताको लागि आदिबासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराको साथमा युएईको देरा दुबई स्थित कार्ल्टन होटलमा दिउँसो ठिक १ बजे कार्यक्रम सुरु हुने कार्यक्रम संयोजक तथा नेपाल आदिबासी जनजाति महांसघ युएईको बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङले उज्यालो नेपाललाई जानकारी दिएको छ ।
गत शुक्रबार महासंघको बैठकबाट उक्त कार्यक्रमको मुल समिति नेपाल आदिबासी जनजाति महासंघ युएई रहने गरि संस्थाका प्रतिनिधिहरुलाई कार्य विभाजन समेत गराएका छन। जस अन्तरगत कार्यक्रम संयोजकको जिम्मा महासंघका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, आर्थिक विभागमा कोषाध्यक्ष नर बहादुर सुनुवार, प्रचारप्रसार विभागमा महासचिव सनिल घिसिङ लगायत एघार ओटै संघसंस्थाका प्रतिनिधि रहने गरि जिम्मेवारी दिएका छन साथै प्रायोजक प्रमुखमा महासंघका अध्यक्ष पासाङ शेर्पा र पुर्वअध्यक्ष डिआर गुरुङ रहने भएका छन । मिडिया पार्टनरको जिम्मा भने उज्यालो नेपाललाई दिएको छ।
कार्यक्रममा विभिन्न जातजातिहरुको संयुक्त झाँकी तथा भेषभुषा प्रदर्शन, आवद्ध ११ ओटै संस्थाबाट जातिय पहिचान झल्किने विभिन्न प्रस्तुति दिनेछन् भने स्थानिय कलाकारहरुको समेत बिजोड प्रस्तुति रहनु साथै निरन्तर संस्थामा रहेर समुदायलाई महत्त्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई नागरिक अभिनन्दन सहित लाइफ टाईम अवार्ड समेत प्रदान गर्ने तयारी गरिरहेका छन । कार्यक्रममा विभिन्न जातिय पहिचान झल्काउने सामाग्री तथा परिकार सहितको प्रत्येक समुदायहरुको बेग्लाबेग्लै स्टल रहनेछ ।
विश्व आदिवासी दिवस १९९४ बाट संयुक्त राष्ट्र संघ ले विश्व भरका आदिवासी जनजातीहरुको दयनीय अवस्था, राज्यबाट उपेक्षित हुनु परेको, उनीहरुको मौलिक पहिचानको संरक्षण, सम्बर्द्धन र विकास गर्ने ,उनीहरुको जल, जमिन र प्राकृतिक स्रोत साधन माथि अग्राधिकार, मौलिक हक, राज्य संचालन मा उनीहरुको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भन्ने स्विकार गरेको उपलक्ष्यमा विश्वका सबै देशहरुमा आदिवासीहरुले यो दिवस मनाउन थालेको हो । प्रत्येक वर्ष अगष्ट ९ मा मान्दै आएको यो दिवस प्रवासमा भने समय अनुकुल नेपालीहरुको छुट्टिको दिन पारेर मनाउँने गरेका छन् ।













