तिमी नओर्लिदा देउरालीमा
यस्तो लाग्छ
बसन्तको प्रेमिल याममा
फूल्न बिर्सेको होस लालीगुरासले
पहिलो प्रेमपत्रको व्यहोरामा
छुटेको होस
प्रेमिल सम्बोधन
झरीको कुनै दिन
सम्झनाको तरेली छुटेको होस
तिमी नओर्लिदा देउरालीमा
यो शितल दिन पनि
गर्मी दिन लागिरहन्छ
उष्ण दिन लागिरहन्छ
कुनै डिप्रेसनको लतमा फसेको लेखक झै
मौसमले कोरिबसेको हुन्छ
उदासीका लयहरू
तिमी नओर्लिदा देउराली
यो कलिलो वैसको
भाउ नभए झैँ लाग्छ
तिमि मदन भएको
त्यो जुगको प्रेम कहानी
म थोत्रो भो प्रीय
मलाई उदासीनताको लयमा बेरिएर
मूना हुनु छैन
मलाई मिलन गीतहरूमा सुसेलिनु छ
मलाई एकाइसौ शताब्दीको
नयाँ प्रेम कथा लेख्नु छ
तिमी नओर्लिदा देउरालीमा
औचित्यपूर्ण समयका
सबै लयहरू भत्किन्छ्न
समयको गति रोकिन्छ













