आमा र दसैँ (शार्दूलविक्रीडित) – शिवराम भट्ट

लाखौं आशिकपूर्ण उत्सव थियो आमा हुँदाको दसैँ
आमाको मनतुल्य सुन्दर थियो आमा हुँदाको दसैँ
जित्थ्यौं युद्ध अभावको सँगसँगै आमा हुँदाको दसैँ
रित्तो केवल औपचारिक बन्यो एक्लै रुँदाको दसैँ
सिङ्गै रात ढिकी कुटेर चिउरा बन्थ्यो निकै कष्टले
सुस्केरासँग साटिएर सपना रुन्थे स्वयं भोकले
सारा दुःख सहेर सुन्दर थियो आमा हुँदाको दसैँ
आफ्नै माथ कुरूप लाग्दछ सधैं आमा विनाको दसैँ
अप्ठ्यारा वन कन्दरासँग जुधी माटो कमेरो झिकी
रातारात खटेर कर्मपथमा बालेर काला टुकी
हाँस्थ्यो चोक दिवार आँगन सधैं आमा हुँदाको दसैँ
जे पोते पनि लाग्छ शुन्य घर यो आमा विनाको दसैँ
हावाकासँग दौडिँदा दिनदिनै यो देह चङ्गा थियो
सारा ताप हटाउने सु-मनको मातृत्व गङ्गा थियो
सारा सृष्टि उचाल्न सक्छु सरिको आमा हुँदाको दसैँ
एक्लो बन्दछु भीडमा पनि यसै आमा विनाको दसैँ
आशाको झलमल्ल जून नभमा आमा हुँदाको दसैँ
आशाको ढकमक्क फूल भवमा आमा हुँदाको दसैँ
जो बोलेपनि लाग्छ कर्कश सधैं आमा विनाको दसैँ
बोकेको छु अनर्थ बोझसरिको आमाविनाको दसैँ













