वास्तविक कैदी 

वास्तविक कैदी 


नया प्रबाह
3.1k
Shares

कविता- वास्तविक कैदी

 

आँखा भएर हेर्न नपाउनु

हात भएर चलाउन नपाउनु

गोडा भएर हिड्न नपाउनु

आवाज भएर पनि बोल्न नपाउनु

जेल बाहिर रहेर पनि थुनिन पर्नु

पिँजडा बाहिरको

पखेटा काँटिएको

गोडा भाँचिएको,

सुगाजस्तै हुँदो रहेछ

जन्जिरभित्रको जीवन ।

 

महाशय !

बिन्ती …..

अब

लगाईयोस् हतकडी

बाँधियोस् आँखामा पट्टी

र डोरी कसियोस मेरा दुबै गोडामा

सिलाइयोस् यी दुबै ओठ

अनि

राखियोस् कारागारभित्र

मलाई कारागार बाहिरको कैदी हुनु छैन ।

 

आफ्ना भनिएका र आफन्त मानिएकासँग

बिचार बाझिएपछी

सम्बन्ध सक्काउनुपर्छ

भाडिनुभन्दा बाँडिनु असल रहेछ

जस्तो कि

आफ्नै भनिएको जुत्ता गोडामा नमिलेपछी

गोडा काट्नु या जुत्ता काट्नु भन्दा

नाङ्गै गोडा हिड्नुको गर्वबोध

छुट्टै आनन्ददायी हुन्छ !

 

मलाई कुनै मृगतृष्णा छैन ,

र भोग, बिलासाको भोक पनि छैन

यदि कुनै दिन

काकाकुल बनेछु भने पनि

बरू,

तीर्खाले नै जलेर मरुँला

आफ्नै रगत पिएर बाँच्ने रहर नपलाओस्

मसँग ।

 

मलाई यो निर्दयी संन्सार हेर्नु छैन

ऐनाले लुकाएको मेरो असली आकृती

आफैँभित्रको सून्यतामा खोज्नु छ

र धन्यवाद दिनु छ ,

म भित्रको ईश्वरलाई…..

अनि , भन्नू छ

धन्य भगवान् धन्न म कैदी भएँ

र त

आफैँभित्र आफू खोज्न पाएँ ।

 

मैले आफ्नै मृत रहरको

लास कुरेको वर्षौं बितिसक्यो

देखावटी सुनको घेरमा

बन्दी हुनुभन्दा

गान्धारी बनाउन

मेरो आँखामा बाँधेको पट्टि

आफ्नै हातले च्यात्छु

शून्यता भित्रको पूर्णता ,

आफैँसँगको प्रेम भित्रको जीवन,

स्वार्थता भन्दा धेरै परको मीठो सम्बन्ध,

एकलब्यसँगको वास्तविक ज्ञान ,

खुशीभित्रको अलौकिक सुख,

मैले रहरको काँडेतारबार भित्र खोज्नुछ

जेल हालिदिनु मलाई कारागारभित्र

म आफूले आफैंलाई प्रेम गरेको नालिस सुनाएर

दिएजती सहन्छु सजाय …..

म भएर वास्तविक कैदी ।

: सुमित्रा सुमी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार