रसुवा – हरेक बर्ष माघेसंक्रान्तिका दिन संचालन हुँदै आएको गोरु जुधाई मेला यो बर्ष पनि संचालन गरिएको छ । रसुवा र नुवाकोटको सास्कृतिक पहिचानको रुपमा स्थापित यो मेलाको अवसर पारेर यस बर्ष ४० हल गोरु जुधाइएको हो । रसुवा र नुवाकोटको सिमा बेत्रावतीमा १० हल, नुवाकोटको तारुकामा २० हल र पञ्चकन्यामा १० हल गरी ४० हल गोरु जुधाइएको हो ।
तारुकामा गोरु जुधाउने चलन बर्षौ पुरानो हो । बझांगी राजा जय पृथ्वीबहादुर सिंह माघे संक्रान्तिका दिन नुवाकोटको तारुकास्थित मावली घर गएको र भान्जा मामाघर आउँदा मनोरञ्जन दिलाउनका लागि मामाले गोरुका बाच्छाहरु जुधाएर मनोरञ्जन दिलाएको किम्वदन्ती रहेको छ । त्यसबेला देखि नै तारुकामा गोरु जुधाउने प्रचलन सुरु भएको जनविश्वास छ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले बिबिध साँस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा गोरु धनीलाई ‘उत्कृष्ठ गोरु पालक किसान’ घोषणा गरी नगद तथा अन्य पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
गोरु जुधाई हेर्न रसुवा, नुवाकोट, धार्दिङ, सिन्धुपाल्चोक, काठमाण्डौ, लगायत बिभिन्न जिल्लाबाट मानिसहरुको भिड लागेको थियो ।













