काठमाडौँ । नेपाल विश्वकप क्रिकेट छनोट खेलका लागि छनोट भएको छ । विश्व क्रिकेट लिग डिभिजन २ को लिग चरण अन्तर्गत क्यानाडासंगको खेलमा १ विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको हो ।
नेपालको जितमा करण केसी नायक बने । लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाए। केसीले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिने क्रममा ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।
नेपालका प्रमुख ब्याट्सम्यानहरु पूर्णत असफल रहदा केसीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जितसम्म पुर्याए । नेपाललाई जितको लागि ५१ रनको आवस्यकता पर्दा उनले सन्दिप लामिछाने संग अन्तिम विकेटका लागि ५१ रनको साझेदारी गर्दै अन्तिम बलमा नेपाललाई जित दिलाउन महत्वपूर्ण योगदान गरे । अन्तिम ओभरमा नेपाललाई ८ रन चाहिएको अवस्थामा केसीले नेपाललाई महत्वपूर्ण जित दिलाए ।
यसअघि नामिवियाको विन्डहकमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ९४ रन बनायो । क्यानडाको स्कोर ४६ रनमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए । क्यानडाका लागि हम्जा तारीक २४ र ओपनर श्रीमन्थले सतकिए पारी खेले । उनले अविजीत एक सय तीन रन बनाए । बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।
नेपालका लागि ओपनर दिलीप नाथले ४१ तथा आरिफ शेखले २६ र रोहित कुमार पौडेलले २७ रन बनाए।












