नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा पटवाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । यसअघि ब्याटिङ कन्सल्ट्यान्टको रुपमा नेपाली टिमलाइ सहयोग पुर्याउँदै आएका उमेश पटवाल नेपाली टिमको नयाँ प्रशिक्षक बन्ने भएका हुन् ।

प्रशिक्षक पुबुदु दासानायकेले २०१५ मा प्रशिक्षण छोडेपछि मुख्य प्रशिक्षक रहेका जगत टमाटाको ठाउमा नेपाली क्रिकेट टिमले नयाँ विदेशी प्रशिक्षक पाएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पटवालबीच शुक्रबार सम्झौता हुने र पटवाल मुख्य प्रशिक्षक भएको घोषणा गर्ने कार्यक्रम तय भए पनि राखेपका सदस्यसचिव केशवकुमार विष्ट कार्यव्यस्तताका कारण कार्यक्रममा अनुपस्थित भएपछि पटवालसँग हुने भनिएको सम्झौताले भने औपचारिकता पाएन । यद्यपी पटवाल मुख्य प्रशिक्षक बनेका छन् । जिम्मेवारी सम्हाल्न पटवाल शुक्रवार दिउसो नेपाल आईपुगेका हुन् ।

सदस्यसचिव विष्ट अनुपस्थित भएपछि उपस्थित सञ्चारमाध्यमलाई नेपाली टोलीका कप्तान पारस खड्काले पटवालले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्ने जानकारी गराएका थिए ।

नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने पटवालले शुक्रबार पत्रकारसँगको भेटघाटमा नेपाली क्रिकेट खेलाडीको मिहिनेतले आफूलाई आकर्षित गरेको प्रतिक्रिया दिए ।

‘ब्याटिङ कन्सल्ट्यान्टको रूपमा नेपाल आउँदा मलाई नेपाली खेलाडी धेरैे मिहिनेती लागेको थियो । यही मिहिनेत र उनीहरूको क्रिकेटप्रतिको मोहले मलाई यहाँ तानेको हो ।,’ नवनियुक्त प्रशिक्षक पटवालले भने । उनले  नेपाली टिमलाई विश्वकपसम्म पुर्याउने लक्ष्य रहेको समेत बताए ।

राखेपसँग गर्ने भनेको सम्झौता एक वर्ष रहने पटवालले पत्रकार सम्मेलनमा जानकारी दिए । सम्झौताअनुसार नवनियुक्त प्रशिक्षक पटवालले वार्षिक ७ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले नेपालको क्रिकेट गतिविधि आइसिसीले नै हेर्दै आएको छ ।

पटवालको नियुक्तिपछि नेपाली राष्ट्रिय टोलीको स्तर बढ्ने टिम कप्तान पारस खड्काले विश्वास व्यक्त गरे ।

सन २०१० मा अफगानिस्तान टोलीको प्रशिक्षक रहिसकेका पटवालले २०१४ मा नै अफगास्तिानको टोलीलाई एसिया कप, ट्वान्टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक रूपमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार