काठमाडौं । एसिसी यु-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै विजयी सुरुवात गरेको हो।
मलेसियाको किनरारा ओभलमा टस जितेर नेपालले बलिङ गरे पछि चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो । चीनले दिएको ५४ रनको लक्ष्य नेपालले विना कुनै क्षेती ५ ओभरमै पुरा गरेको हो ।
नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे । ओपनिङ ब्याटिङ गरेका सर्राफले अविजित ४६ रन बनाउन विस्फोटक ब्याटिङ गरे । उनले मात्र २१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस क्रममा उनले अन्तिम ओभरमा लगातार बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै रित गौतमले अविजित १० रन (१० बलमा १ चौका) बनाए ।
चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ६ विकेट लिए । ढकालले ९.१ ओभरमा ३ मेडन ओभर गर्दै १९ रन खर्चिए । यस्तै लेग स्पिनर तिलक राज भण्डारीले ३ विकेट लिन ७ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चिए ।













